photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा


नेपाल आइडल सिजन २ इपिसोड १०








नेपाल आइडल सिजन २ इपिसोड ९










नेपाल आइडल सिजन २ इपिसोड ८









नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कमलपित्त ९जन्डिस०को प्रभावकारी घरेलु उपचार सोध्नुहोस् । धेरैले यस्तै बताउनेछन् कि “गँगटो वा झिँगे माछा खोज्नुहोस्, नपकाई पिँध्नुहोस्, अनि खानुहोस् ।”

काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटिएका गुल्मीका एक ३२ वर्षे एक व्यक्तिका अनुसार यो उपचार विधि उनका हकमा एकदमै प्रभावकारी भएको छ । करिब दुई वर्ष अगाडि जन्डिस लाग्दा आफूले एक पैसा पनि खर्च नगरी गँगटो खाएकै भरमा केही दिनमा रोगलाई चट् पारेको बताउँदा उनी मख्ख छन् ।

तर, अहिले उनी अस्पताल आउनुको कारण भने अर्कै छ ।

जन्डिस सञ्चो भएको केही महिनामा नै उनलाई अन्य रोगहरूले आक्रमण गरे । बारम्बार छाती दुख्न थाल्यो । खोकी लाग्न थाल्यो । ‘ह्या।। जाबो खोकी त हो नि’ भन्ठाने, खासै वास्ता गरेनन् । तर, बारम्बार उही समस्या दोहोरिएपछि बेवास्ता गरिराख्न पनि मिलेन । अस्पताल जानु नै पर्ने भो ।

सुरुमा उनी आफ्नै घर नजिकका अस्पताल चाहार्न थाले । विस्तारै पाल्पा, बुटवल हुँदै भरतपुरसम्म आइपुगे । लक्षण सामान्य नै भए पनि हरेक अस्पतालले उनलाई अर्कातिर ‘रिफर’ गर्न थाले । कतै नभएको उपचार काठमाडौँमा त होला नि भनेर उनी अहिले शिक्षण अस्पताल आइपुगेका छन् ।

उनकै साथ लागेर आएका छन् १० वर्षका छोरा । बिरामी कुर्न होइन, आफ्नै उपचारकै लागि । छोरालाई पनि खोकीले सताएको छ, छाती दुखेकै छ । बाबुछोरामा उस्तै लक्षण देखिएपछि चिकित्सकहरूले उनीहरूमा खुबै चासो दिएका छन् ।

सोधपुछका क्रममा छोरालाई पनि केही वर्ष अगाडि जन्डिस भएको पत्ता लाग्छ । उनको उपचारमा पनि उही ‘प्रभावकारी’ औषधी गंगटाको प्रयोग गरिएको थियो ।

विभिन्न प्रकारका परीक्षणपछि डाक्टरहरूले जे पत्ता लगाए, त्यो बिरामी परिवारका लागि सहजै स्वीकार्य थिएन । उनीहरूले बताए कि आज बाउछोराले भोगिरहेको सम्पूर्ण समस्याको मूल कारण नै काँचो गँगटो हो, जुन जन्डिसको उपचारका क्रममा ख्वाइएको थियो । उक्त गँगटाले उनीहरूमा ‘प्यारागोनिमियासिस’ नामको रोग सङ्क्रमित गराएको रहेछ ।

शिक्षण अस्पतालको माइक्रोबायोलोजी विभागका डा। रञ्जित साहका अनुसार खानाबाट मानिसको शरीरमा प्यारागोनिमस नामको परजीवी प्रवेश गरेपछि यो रोग लाग्छ ।


जोखिममा नेपाली

दक्षिणपूर्वी एशियाका प्रायः देशहरूमा व्याप्त यो रोग नेपालमा भने हालसम्म खासै सुनिएको छैन । यद्यपि काँचो गँगटो, चिप्लेकिरो वा झिँगे माछाले जन्डिस तथा हड्डी भाँचिएको समस्या समाधान हुन्छ भन्ने अन्धविश्वासका कारण यो बिमारको जोखिमलाई कम आँक्न नमिल्ने स्वास्थ्यकर्मीको ठहर छ ।

“यदि नेपालमा त्यस्तो अन्धविश्वास थिएन भने यसको जोखिम एकदमै कम हुन्थ्यो,” डा। साह भन्छन्, “किनकि त्यसबाहेक नेपाली संस्कृतिको कुनै पनि पक्षले गँगटो वा झिँगेमाछाको सेवनलाई प्रवद्र्धन गर्दैन ।”

हुन त गरिबीमा बाँच्न बाध्य कतिपय नेपालीलाई आफू वरिपरि सित्तैमा पाइने यस्ता किराफट्याङ्ग्रा खाएर जीविका चलाउनुपर्ने बाध्यता पनि छ । तराइमा हुर्किएका साह आफैँले पनि कतिपय अवस्थामा गँगटा तथा झिँगे माछा खाएका छन् । कतिपयले गंगटा परम्परागतरुपमै खाने गरेका छन् ।

गरिबीको अन्त्य गर्दै ती सबै जनतालाई स्वस्थ खाना सुनिश्चित गर्न त महाअभियान नै चलाउनुपर्ला । तर, हाललाई भने आफूलाई यो रोगबाट सुरक्षित राख्नका लागि सबैले खाने सबै कुरा राम्ररी पाकेको सुनिश्चित गर्नुपर्ने डा साहको सुझाव छ । “यदि गँगटो वा माछा पूरै पाकेको छ भने खासै केही फरक पर्दैन,” उनी भन्छन्, “तर यदि काँचै वा राम्ररी नपाकी खानुभो भने तपाईँमा सङ्क्रमण हुने करिब निश्चित छ ।”

अधिकांश गँगटाभित्र एक प्रकारको परजीवी किरा रहेको हुन्छ । जब मानिसले काँचै गँगटा खान्छन्, ती गँगटा पच्छन् तर भित्र रहेका किरा पच्न सक्दैनन् । ती परजीवी किरा बिस्तारै फोक्सोतिर जान्छन् र रोग सुरु हुन्छ । सामान्यतयाः गँगटा खाएको दुई महिनाजति पछि लक्षण सुरु हुन्छ ।

‘प्यारागोनिमस वेस्टरमानी’ नामक परजीवीका सबभन्दा डरलाग्दा ‘इन्टरमिडिएट होस्ट’ गँगटा र झिँगे माछा नै हुन् । यद्यपि यस्तै प्रकारका अन्य जीवबाट पनि यो रोग सर्न सक्छ । त्यसै गरी यसबाट सङ्क्रमित हुनेमा मानिस मात्र नभएर अन्य स्तनधारी जीव पनि रहेका छन् ।

गँगटा र झिँगे माछालगायतका किराबाट परै बस्ने शाकाहारीहरू भने यस रोगबाट पूर्णतः सुरक्षित छन् । यो रोग अन्य माध्यमबाट सर्दैन ।

“हालसम्म हाम्रो टोलीले यो रोग लागेका पाँचजनाको सफल उपचार गरेको छ । उनीहरू चितवनको कुरिनटार, स्याङ्जाको ज्यामिरे अनि गुल्मीको बेदुवाबाट आएका छन् । यी क्षेत्रका बासिन्दा अझ सचेत हुनु आवश्यक छ किनकि त्यहाँका गँगटामा सङ्क्रमण भएको पुष्टि भइसकेको छ,” उनी बताउँछन् ।

झुक्काउने लक्षण

उपचारका नाममा रोग बोक्नुपर्ने जोखिम आफ्नो ठाउँमा छ, प्यारागोनिमियासिस रोगको अर्को पक्ष झन् डरलाग्दो छ । यो रोगको प्रकृति क्षयरोग ९टीबी० सँग ठ्याक्कै मिल्छ । दुबै रोगहरू नेपालमा उल्लेख्य मात्रामा व्याप्त छन् । प्यारागोनिमियासिसको पहिचान गर्न केही कठिनाइ भएका कारण मात्र यसको उपस्थिति कम देखिएको हो । हुन त अधिकांश अवस्थामा यस रोगलाई पनि क्षयरोग नै मान्ने गरिएको छ ।

दुबै रोगका लक्षण पनि उही नै हुन्ः छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, बेलाबेला ज्वरो आउने । दुबैले आक्रमण गर्ने भनेको फोक्सोलाई नै हो । दुबै रोगको पहिचानका लागि अपनाइने प्रविधि पनि उही हो ।

“हामीले यी दुई रोगबीचमा देख्न सक्ने फरक अत्यन्त थोरै छन् । प्यारागोनिमियासिसका बिरामीको खकारमा परजीवीका फुल देखिन्छन् भने क्षयरोगका बिरामीमा यस्तो देखिँदैन । तर, समस्या के हो भने खकार जाँचले सधैँ यस्तो फुल देखाउन सक्दैन । खकार परीक्षणमा फुल देखिने सम्भावना २८देखि ३८ प्रतिशत मात्र हुन्छ,” उनी भन्छन् ।

“परजीवीको फुल देखिने सम्भावना शत प्रतिशत भएको प्रविधि पनि विकास नभएको होइन । प्यारागोनिमियासिसको परीक्षणका लागि यो प्रविधि एकदमै उपयोगी हुन्छ,” उनी भन्छन्, “तर त्यो प्रविधि हालसम्म नेपालमा उपलब्ध छैन ।”

रोगसँग जुध्ने इसिनोफिल्स नामको सेता रक्तकोषको सङ्ख्यामा आएको परिवर्तनले पनि यो रोग क्षयरोग हो कि प्यारागोनिमियासिस भन्ने सङ्केतसम्म दिन्छ । प्यारागोनिमियासिसको हकमा यो सङ्ख्या बढेर जान्छ ।

रोग पहिचानका लागि यी सबै दोस्रो प्र्राथमिकताका कुरा हुन् । बिरामीले विगत एक वर्षभित्र आफूले काँचो गँगटा वा यस्तै किरा खाएको वा नखाएको बताए भने रोग पत्ता लगाउन सबभन्दा सजिलो हुन्छ । यदि उनीहरूले यो कुरा लुकाए पनि रोग पत्ता लाग्ने सम्भावना त्यत्तिकै कम भएर जान्छ ।

गलत औषधीका जोखिम

प्यारागोनिमियासिसलाई क्षयरोग भनी गलतरूपमा पहिचान गरेपछि डाक्टरहरूले क्षयरोगकै औषधी लेखिदिन्छन् । तर, यसको असर एकदमै भयावह हुन्छ ।

क्षयरोगका सामान्य बिरामीमा औषधीले केही महिनाभित्रै काम गर्न थाल्छ । “कहिलेकाँही औषधीले काम गर्दैन । हामी सोच्छौँ कि बिरामीको रोग एकदमै बलियो छ । हामी त्यसैअनुसार बलियो औषधी चलाउन थाल्छौँ । प्यारागोनिमियासिसका हकमा पनि औषधीले काम गर्दैन, तर अझ बलियो औषधी चलाउँदा अझ धेरै नराम्रा असर देखिन्छन् ।”

डा साह थप्छन्, “क्षयरोगको औषधी साइड इफेक्टका लागि कुख्यात छन् । प्यारागोनिमियासिसका बिरामीलाई त्यो औषधी दियो भने करिब दुई वर्षभित्र उसको मृत्यु निश्चित छ ।”

प्यारागोनिमियासिस तिन प्रकारका हुन्छन् । पहिलो प्रकारले फोक्सोलाई असर गर्छ जसलाई पल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । दोस्रो प्रकारले मस्तिष्क लगायतका अन्य अङ्गलाई असर गर्छ जसलाई एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिस भनिन्छ ।

तेस्रो प्रकारले फोक्सोको आवरणलाई असर गर्छ जसलाई प्लुरोपल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । पल्मोनरी प्यारागोनिमियासिसको मुख्य जोखिम गलत पहिचान, गलत औषधी र अकाल मृत्यु हो भने एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिसको जोखिम फरक, तर उत्तिकै डरलाग्दो छ ।

“यदि यो रोगले दिमागलाई असर गर्‍यो भने बिरामीलाई नियमित टाउको दुख्त, पक्षघात हुन्छ र छारे रोग लाग्छ । यस्ता बिरामी पल्मोनरी प्यारागोनिमियासिसका बिरामीभन्दा धेरै बाँचे पनि उनीहरूको जीवन अत्यन्त कष्टपूर्ण हुन्छ,” डा साह भन्छन् ।

तर, सजिलो छ समाधान

यी सबै जोखिमको कारण रोगको गलत पहिचान नै हो । रोगको पहिचान सही भएको खण्डमा यसको उपचार अत्यन्त सहज छ ।

“त्यस्ता धेरै सङ्क्रामक रोगहरू छन् जसको सही उपचारमा नेपालीको सहज पहुँच छैन । तर, प्यारागोनिमियासिसका हकमा हामीसँग एकदमै प्रभावकारी औषधी छ,” डा। साह भन्छन् । अन्य सङ्क्रामक रोगको उपचारमा प्रयोग हुने प्राजिक्वान्टेल नामको औषधी तिन दिनसम्म, दिनको तीनपटक खाँदा यो रोग ठीक हुन्छ । यसमा करिब एक हजार रुपैयाँभन्दा कमै खर्च हुन्छ ।

“यस्तो सहज उपचारका लागि सबै डाक्टरहरूलाई नेपालमा पनि प्यारागोनिमियासिसको जोखिम छ भन्ने थाहा हुनुपर्छ । अर्कातर्फ बिरामी पनि इमान्दार भएर आफ्नो विगतबारे बताउन तयार हुनुपर्छ,” उनको सुझाव छ ।

गुल्मीका बिरामी र उनका छोराले त्यसै गरेका कारणले मात्र उनीहरू तमाम दुःखबाट मुक्त भए ।

अनलाइन खबरबाट साभार ।
२०७३ चैत्र १७। २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान प्रक्रिया र अाम मतदाताको भूमिका बारे यसैसाथ संलग्न श्रव्यदृश्यबाट थप जानकार हुन सकिनेछ।






साभार स्रोत: निर्वाचन अायोग नेपाल।

२०७३ भदौ ३१। स्मरण शक्ति बढाउन निम्न तरिकाहरु लाभदायी हुनेछन्—

१. विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहो¥याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

३. नौलो तरिका अपनाउनुहोस्
यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

४. कार्डमा लेख्नुहोस्
जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब  तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने  गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६. पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

७. उदाहरण दिनुहोस्
जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । (साभार— स्वास्थ्य खबरपत्रिका)

डा. ज्योति रायमाझी ।
२०७३ बैशाख १७ । हालको आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान, वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्कमात्रै नभएर यौवनावस्थाका महिलासमेत स्तन क्यान्सरको सिकार हुन थालिसकेका छन्।

पश्चिमी राष्ट्रहरू अझ भनौ विकसित मुलुकमा त प्रत्येक आठ महिलामध्ये एकलाई स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखा पर्नु निश्चय नै भयावह स्थिति भएको स्वीकार्नुभन्दा अर्को विकल्प छैन। एसियाली महिलामा चाहिँ प्रत्येक २२ जनामा एकजनालाई उक्त समस्या देखा पर्ने गरेको तथ्यांक उपलब्ध छ।

स्तन क्यान्सर कुनै पनि उमेरसमूहका महिलाहरूलाई हुन सक्छ। तर पनि बढ्दो उमेरका महिला नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै यस रोगको सिकार हुन थालेका छन्। महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो। संख्याका हिसाबले हेर्दा नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा रहेको छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो। 

रोगीलाई जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सककहाँ जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो÷तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ। त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन पनि सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउनै सकिँदैन।

बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाँ पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ। तिनको स्तन काटेर फ्याक्नुपर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवनसमेत बचाउन सकिन्छ।

नेपालमा बढ्दो उमेरका युवतीहरूसमेत यस समस्याबाट पीडित हुने गरेको पाइनु निश्चय नै चिन्ताको विषय हो। युवतीमा उक्त रोगले तीव्र रूपमा आक्रमण गर्ने गरेको पाइएको छ। आश्चर्यको कुरा त यो छ कि स्तन क्यान्सर केवल महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गरेको छ। रोगी जनसंख्यामध्ये करिब एक प्रतिशत पुरुषलाई सो रोग लागेको पाइन्छ। रोगका कारणमध्ये पाँचदेखि १० प्रतिशत वंशानुगत देखिएका छन् भने ९० प्रतिशत चाहिँ रोगको पारिवारिक इतिहास भएको कारणले हुने गरेको देखिन्छ।

रोगका लक्षणहरू
करिब ६० देखि ८० प्रतिशत महिला आफ्नो जीवनकालमा क्यान्सर नभए पनि स्तनसम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।

स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन्। त्यस कारणले नै सबै महिलाले नियमित पहिले आफैंले आफ्नो स्तनको परीक्षण गर्ने र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ। जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन्। लक्षणहरूमध्ये केही निम्न छन्:

- कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने
- कुनै एक वा दुवै स्तनको आकार प्रकारमा परिवर्तन हुने
- स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने
- स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रङ परिवर्तन हुने
- स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स-साना घाउ÷खटिरा÷बिमिराहरू देखा पर्ने
- स्तनको मुन्टो पहिलेको भन्दा फरक रूपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धस्सिने आदि।
- अकस्मात शारीरिक तौल घट्ने
- शरीरका हड्डीहरू दुख्ने

स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरूमध्ये दोस्रो र क्यान्सरकै कारण हुने महिला मृत्युको पनि दोस्रो ठूलो कारण रहेको छ। धेरै महिलाले सर्वप्रथम थाहा पाउने स्तनसम्बन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा÷कडा डल्लाहरू नै हुन्। 

४० वर्षमुनिका महिलामा ८०-९० प्रतिशत गिर्खाहरू क्यान्सर नहुन सक्छन् भने ४० वर्ष माथिका महिलामा ती गिर्खाहरू क्यान्सरकै लक्षण हुन सक्ने सम्भावना बढी हुन्छ। तर सबै महिला स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन्। 

लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण एसियाली महिला रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाँ पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ।

तसर्थ, २० देखि ४० वर्षका महिलाले स्तनको नियमित स्वयं परीक्षण गर्नुका साथै प्रत्येक दुई-तीन वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनु बुद्धिमानी हुनेछ। ४० वर्ष माथिका महिलालाई बर्सेनि स्क्रिनि· म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य छ। समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीवन गुम्नबाट पनि बचाउन सकिन्छ।

आफैं स्तन परीक्षण गर्ने तरिका

१) २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको ५-७ दिनमा परीक्षण गर्ने।
२) महिनावारी सुकेको र गर्भवती महिलाले हरेक महिनाको एउटै गते ÷दिनमा परीक्षण गर्ने।
३) आफ्नो स्तनको बारेमा थाहा पाउने जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस्।
४) परीक्षण हरेक महिना अनिवार्य रूपमा गर्ने।
५) परीक्षणका लागि जम्मा जम्मी १० मिनेट लाग्ने हुँदा अल्छी गर्ने वा हेलचेक्रयाइ गर्ने बानी हटाउने।

तरिका
क) पहिलो तरिका
१) ऐना अगाडि बसेर कमरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने
२) स्तनको आकार, प्रकार एकनास छ छैन परीक्षण गर्ने
३) गिर्खा छ, छैन परीक्षण गर्ने
४) स्तनको मुन्टोभित्र गएको छ, छैन परीक्षण गर्ने
५) छालाको रङमा फरक छ छैन हेर्ने, सुन्तलाको जस्तो रङ छ छैन हेर्ने।
ख) दोस्रो तरिका
दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर पनि हेर्ने।
ग) तेस्रो तरिका
अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने। फोटोमा देखाए जस्तैः
घ) चौथो तरिका
अनि काखीमुनि छाम्ने
ङ) पाँचौ तरिका
स्तनको मुन्टो निचोरेर पीप, रगत वा पानी आएको छ छैन हेर्ने

माथिका जाँचहरू गर्दा यदि गिर्खा फेला परेमा स्तनसम्बन्धी विशेषज्ञ शल्य चिकित्सक कहाँ गई विशेष परीक्षण गराउने।

क्लिनिकल परीक्षण

रेडियोलोजीकल परीक्षण, भिडियो एक्स-रे, म्यामोग्राम, एमआरआई, टिस्यु डायग्नोसिस, एफएनएसी, बायोप्सी आदि गराउँदा रोगबारे यकिन गर्न सकिने हुन्छ। तसर्थ अनुभवी शल्यचिकित्सकको सल्लाह-सुझावमा ती परीक्षणहरू गराउनु वाञ्छनीय हुन्छ।

विशेषज्ञबाट स्तन परीक्षण र सुझाव

- ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एक पटक गरिन्छ।
- २०-४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एक पटक जाँच गर्नुपर्छ।
- बढी जोखिमको संकेत भएका महिलाका लागि अरूभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ।
- यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो।

म्यामोग्राम कहिले गरिन्छ ?

- ३५ वर्षभन्दा माथिका उमेरसमूहका महिलाका लागि मात्र यो जाँच गरिन्छ।
- ४० वर्षमाथिका महिलाको लागि हरेक वर्ष एक पटक गर्नुपर्छ।
- अति जोखिम भएका महिला जस्तै जसको परिवारमा यो किसिमको रोग भएको इतिहास छ, उनीहरूका लागि अरू महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ।

यो जाँचको माध्यमले ८५ प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने हुँदा यो अत्यन्तै महत्वपूर्ण जाँच हो।

यसले पाँच मिलिमिटरसम्मको अर्थात् चामलको दाना जत्रो क्यान्सरयुक्त ट्युमर पनि पत्ता लगाउन सक्छ र यस्तो अवस्थामा पत्ता लाग्दा स्तन जोगाउन सकिने त निश्चितै हुन्छ र बिना किमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन सक्छ।

एसियाली महिलामा पश्चिमी देशका महिलाका दाँजोमा यो रोग निश्चित रूपमा कम हुने गरेको पाइएता पनि रोगसम्बन्धी ज्ञान नभएकोले हाम्रोजस्तो देशमा महिला यो रोगको विकसित अवस्थामा अथवा यो रोग फैलिसकेको अवस्थामा मात्रै डाक्टरको सल्लाह लिन आउँछन्।

त्यसैले यो रोगसँग लड्ने तरिका भनेको नै रोगसम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो।

रोगसम्बन्धी आवश्यक जनचेतनाको विकास होस् भनेर हामीले नर्भिकमा नियमित रूपमा रोग परीक्षण शिविरहरू सञ्चालन गर्ने/गराउने, आफ्नो स्तन आफैंले कसरी जाँच्ने, जीवनशैलीमा कस्तो र कसरी सुधार ल्याउने, खानपान कस्तो हुनुपर्ने, नियमित गर्नुपर्ने व्यायाम कस्तो, कति र कसरी गर्ने आदि बारे पनि बिरामीहरूलाई आवश्यक सरसल्लाह/सुझाव दिने गर्दै आएका छौं।

ती प्रक्रियाहरूले पनि समयमै रोग पत्ता लगाउन धेरै हदसम्म मद्दत गर्ने हुँदा तिनको अनुसरण गर्नु अति आवश्यक हुन्छ। किनकि रोग लागि अथाहा धनराशिका साथ रोगको उपचार गराउनुभन्दा रोग लााग्नै नदिनु अति उत्तम हो। रोक्न सकिने रोग लागी अकालमै ज्यान गुमाउनुभन्दा भविष्य सुरक्षित पार्नु अझ उत्तम हो। (अन्नपूर्ण पोष्टबाट साभार) 

२०७३ बैशाख ९। सामाजिक सञ्जाल, फेसबुकले अबदेखि म्यासेन्जरमा ग्रुप कल गर्ने नयाँ सुविधा थप गरेको छ ।

यो सुविधा अन्तर्गत एक पटकमा तपाइ बढिमा ५० जनासँग ग्रुप कल गर्न सक्नुहुन्छ । फेसबुकले यो ग्रुप कल सुविधा विश्वव्यापी रुपमा ल्याएको हो ।

यो फिचर आईओएस र एन्ड्रोइड डिभाइसका लागि उपलब्धछ, यदि तपाइ पनि यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने फेसबुक म्यासेन्जरलाइ अपडेट गर्नुपर्ने हुन्छ । (गोरखापत्र अनलाइनबाट)

उराठै लाग्छ नि डाँडा पारि वन, निष्ठुरीको मायाले सारो पार्‍यो झन ।।









डा. सञ्जीव शर्मा। 
२०७२ चैत २८। सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ । अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ । यो बालबालिकाको मिर्गाैला रोग, अल्छीपना वा चकचकेपनाका कारण भएको होइन । तर, बालबालिका र तिनका परिवारका लागि यो चिन्ताको विषय बनेको हुन्छ ।

६ वर्षको उमेरसम्मका बालबालिकाले ओछ्यानमा पिसाब गर्छन् । पाँच वर्षको उमेरमा १५ देखि २० प्रतिशत बालबालिकामा ओछ्यानमा पिसाब गर्ने समस्या हुन्छ । उमेर बढ्दै जाँदा, ओछ्यानमा पिसाब गर्ने समस्या हुने बालबालिकाको संख्या अनुपातिक रूपबाट कम हुँदै जान्छ । १० वर्षसम्म पाँच प्रतिशत, १५ वर्षसम्म दुई प्रतिशत र वयस्क एक प्रतिशतमा यो समस्या हुन सक्छ ।

कस्ता बालबालिकाको ओछ्यानमा पिसाब गर्ने समस्या हुन सक्छ ?
–    बालबालिका जसका बाबुआमामा बाल्यकालमा त्यस्तै समस्या थियो ।
–    स्नायुको विकास ढिलो भई मूत्रथैली भरिएको थाहा पाउने क्षमता कम भएका बालबालिकामा ।
–    गहिरोसँग निदाउने बालबालिकामा ।
–    केटीभन्दा केटाहरू यो समस्याले बढी प्रभावित हुन्छन् ।
–   मनोवैज्ञानिक वा शारीरिक तनाव बढ्नाले ।
–   अत्यन्त कम प्रतिशत बालबालिकामा, मूत्रनली संक्रमण, मधुमेह, मिर्गाैलाले काम गर्न छोड्दा, कब्जियत, सानो मूत्रथैली, स्नायु विकासमा कमी भएको, केटा मान्छेको मूत्रनलीको भल्भमा खराबी भएको आदि कारण पनि यो समस्या हुन सक्छ ।

केही रोग वा संरचनात्मक समस्याको आशंका गरिएका बालबलिकालाई मात्रै पिसाब, रगतमा चिनीको मात्रा, ढाडको एक्सरे र मिर्गौला वा मूत्रथैलीको अल्ट्रासाउन्ड वा अन्य परीक्षण गरिन्छ ।

उपचार
ओछ्यानमा पिसाब गर्ने समस्याको उपचार गरिरहनु पर्दैैन । समयसँगै ओछ्यानमा पिसाब गर्ने समस्या रोकिन्छ र निको हुन्छ भन्ने आश्वासन दिनुपर्छ । उनीहरूलाई गाली गर्न वा सजाय दिनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याको प्रारम्भिक उपचार भनेको शिक्षा, उत्प्रेरणात्मक उपचार तथा तरल पदार्थ पिउने र पिसाब फेर्ने बानी परिवर्तन नै हुन् । यी उपायले पनि ओछ्यानमा पिसाब गर्ने समस्यामा सुधार आएन भने औषधोपचार पनि गर्न सकिन्छ ।

–    बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याबारे राम्रोसँग शिक्षा दिनुपर्छ ।
–    ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकाको गल्ती होइन, त्यसैले उनीहरूलाई यो समस्याका लागि आरोप लगाउने वा सजाय दिने गर्नुहुँदैन ।
–   कसैले पनि बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याका लागि जिस्क्याउनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याले गर्दा बालकले भोग्नुपर्ने तनाव कम गर्नुपर्छ । बालकको परिवार सहयोगी हुनुपर्छ र बालकलाई उसको यो समस्या निको हुने अस्थायी समस्या हो भनेर सम्झाउनुपर्छ ।
–    राती बाल्ने बत्तीको व्यवस्था गरेर राति सजिलै शौचालय जान सक्ने बनाउने ।
–    थप पाइजामा (पेन्ट), तन्ना र तौलिया सँगै राख्ने जसले गर्दा ओछ्यानमा पिसाब गरेर बालक राति उठ्यो भने उसलाई लुगा फेर्न सजिलो होस् ।
–    डस्ना नबिग्रियोस् भनेर डस्नामाथि प्लास्टिकले ढाक्ने ।
–   तन्नामुनि ठूलो तौलिया राख्यो भने त्यसले पिसाब सोस्छ र बालकलाई चिसो लाग्दैन ।
–   पिसाब नगन्हाओस् भनेर हरेक बिहान नुहाउन प्रेरित गर्ने ।
–    कब्जियतको समस्यालाई बेवास्ता नगरी उपचार गरिहाल्नुपर्छ ।

तरल पदार्थ कम गर्ने
–   बालकले सुत्न जाने समयभन्दा दुईदेखि तीन घन्टाअघि पिउने तरल पदार्थको मात्रा सीमित गर्ने तर उसले दिउँसो पर्याप्त पानी पिओस् भन्ने सुनिश्चित गर्ने ।
–    चिया, कफी, कार्बनयुक्त पेय पदार्थ (कोला) र चकलेट राती नखाने । ती चिजले पिसाब लगाउँछन् र ओछ्यानमा पिसाब गर्ने समस्या बढाउँछन् ।

पिसाब निथार्ने बानीका लागि सुझाव
–    सुत्न जानुअघि दुईपटक पिसाब निथार्न लगाउने । पहिलोपटक सधैँ सुत्न जानुअघि र दोस्रोपटक निदाउनुभन्दा पहिले ।
–    दिनभर निश्चित समयावधिमा शौचालय जाने बानी बसाल्ने ।
–    पिसाब निथार्न प्रत्येक राती बालक निदाएको तीन घन्टाजति पछि उसलाई उठाउने । आवश्यक परे अलार्मको प्रयोग गर्ने ।
–    ओछ्यानमा पिसाब गर्ने समय निर्धारण गरेर उसलाई उठाउने समय मिलाउन सकिन्छ ।

ओछ्यानमा पिसाब गर्दाको अलार्म
–    ओछ्यानमा पिसाब वा ओसको अलार्म ओछ्यानमा पिसाब गर्ने समस्या नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी विधि हो र सात वर्षभन्दा माथिका बालबालिकाका लागि यसको प्रयोग गरिन्छ ।
–    यस अलार्ममा बालकको कट्टुमा एउटा सेन्सर जडान गरिन्छ । जब बालकले ओछ्यानमा पिसाब गर्न लाग्छ, सो उपकरणले पिसाबको पहिलो थोपा नै थाहा पाउँछ र बज्न थाल्छ । यसरी बालक ब्यूँझन्छ र ब्यूँझेको बालकले शौचालय नपुगेसम्म आफ्नो पिसाब रोकिराख्न सक्छ ।
–     सो अलार्मले ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुनु ठीक अघि आफैँ ब्यूँझन बालकलाई तालिम दिन मद्दत गर्छ ।

मूत्रथैली प्रशिक्षण अभ्यास
–    ओछ्यानमा पिसाब गर्ने समस्या भएका धेरै बालबालिकाको मूत्रथैली सानो हुन्छ । मूत्रथैली प्रशिक्षणको लक्ष्य मूत्रथैलीको क्षमता बढाउनु हो ।
–    दिनको समयमा बालबालिकालाई धेरै मात्रामा पानी पिउन लगाइन्छ र पिसाब लागे पनि पिसाब रोकिराख्न लगाइन्छ ।
–    यस्ता अभ्यासले बालकले लामो अवधिसम्म पिसाब रोकिराख्न सक्छ । यसले मूत्रथैलीको मांसपेशीलाई बलियो बनाउँछ र मूत्रथैलीको क्षमता बढाउँछ ।

औषधोपचार
ओछ्यानमा पिसाब गर्ने समस्या निको पार्न अन्तिम विकल्पका रूपमा मात्र औषधोपचार गरिन्छ र प्रायः सात वर्षभन्दा माथिका बालबालिकामा यो विकल्प प्रयोग गरिन्छ । यो प्रभावकारी त हुन्छ तर यसले ओछ्यानमा पिसाब गर्ने समस्यालाई निको पार्दैन । यसले पिसाब रोक्ने समय बढाउँछ र अस्थायी रूपमा यसलाई प्रयोग गरिन्छ । प्रायः औषधिको प्रयोग बन्द गरेपछि पुनः ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुन्छ । औषधोपचारभन्दा पनि अलार्मको प्रयोगबाट स्थायी उपचार सम्भव हुन सक्छ ।

चिकित्सकलाई कहिले देखाउने ?
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकाको परिवारले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ :
–   दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्या भएमा ।
–    सात–आठ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने समस्या रहिरहेमा ।
–    कम्तीमा ६ महिना ओछ्यानमा पिसाब गर्न छोडेपछि पुनः सुरु गरेमा ।
–    दिसा गर्दा पिसाब नियन्त्रण गुमाएमा ।
–    ज्वरो आएमा, दुखेमा, पिसाब निरन्तर भएमा, पोलेमा, अनावश्यक तिर्खा लागेमा तथा अनुहार र खुट्टा सुन्निएमा ।
–    पिसाबको प्रवाह कम भएमा, पिसाब फेर्न कठिनाइ भएमा ।
(स्वास्थ्य खवरबाट साभार)







भारतीय भूमिमा नेपाली फुटबलले रच्यो इतिहास 

२०७२ फागुन ३। एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 
भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाका थिए। 

बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रचेको छ। 

यसअघि नेपालले अघिल्लो महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दै फुटबलमा २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। 

 नेपालले यसअघि सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो । (सेतोपाटीबाट)

  • किशोरकुमार प्रधानाङ्ग 
२०७२ माघ २१ । महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामा स्तन क्यान्सर पनि पर्दछ । सामान्य विचार नपु¥याउँदा र बेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कयौँ महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ । जनचेतनाको अभाव, गरिबी, अशिक्षा र अज्ञानताका कारण स्तन क्यान्सरबारे महिलाले कुनै जानकारीसमेत पाउँदैनन् । विश्व स्वास्थ्य संगठका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक एक लाखमा २१ दशमलब ८ जना महिलामा स्तन क्यान्सर देखापर्छ । र, ९ दशमलब ६ जनाको मृत्यु हुन्छ । स्तनमा भएका कोष—कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । 

तपसिलका अवस्थामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छः 
  •     वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा ।
  •     ३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा ।
  •     बच्चा नजन्माएका महिलाहरूमा ।
  •     स्तनपान नगराउने महिलाहरूमा ।
  •     स्तनमा पहिलेदेखि नै गा“ठागु“ठी वा पुराना समस्या भएमा ।
  •     पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा ।
  •    चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।

स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः
  •     स्तनमा गिर्खा फेला पर्नु ।
  •     स्तनको आकारमा परिवर्तन आउनु ।
  •    स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
  •    स्तनको छालाको रङ परिवर्तन हुनु ।
  •     स्तनको मुन्टो भित्र गाडिनु ।
  •    स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु ।
सुरुको अवस्थामा स्तन क्यान्सर पत्ता लगाउने तरिकाः

१. नियमित स्वास्थ्य परीक्षणः
स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट स्तनको नियमित परीक्षण गराउनुपर्दछ ।

२.    आफैँबाट आफ्ना स्तनको परीक्षणः
स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन २० वर्ष पुगिसकेका महिलाले आफैँले आफ्ना स्तन राम्ररी छामेर पत्ता लगाउन सकिन्छ । यो सरल एवं व्यावहारिक तरिका पनि हो । महिलाले प्रत्येक महिना नियमित रूपमा आफ्ना स्तन आफैँले राम्ररी हेरेर तथा छामेर स्तनमा भएका गिर्खा वा परिवर्तन थाहा पाउन सक्दछन् । दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिन्छ । स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए नभएको छामेर हेर्नुपर्दछ । साथै, आफ्ना स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए नआएको पनि ख्याल गर्नुपर्दछ । यसरी परीक्षण गर्दा गिर्खा फेला परेमा चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ ।

३.    म्यामोग्राफी परीक्षणः
म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने विशेष प्रकारको एक्सरे परीक्षण हो । यस परीक्षणबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष उमेर पुगिसकेका महिला तथा यो रोग लाग्न सक्ने सम्भावना बढी भएका महिलाले चिकित्सकको सल्लाह अनुसार यो परीक्षण गराउनुपर्दछ ।

स्तन क्यान्सरको निदान
  • एफएनएसीः स्तनमा आएका अस्वभाविक गिर्खाको कोष—कोषिकाहरू मसिनो सुईले झिकेर प्रयोगशालामा अनुसन्धान गरी क्यान्सर निदान गर्न एफएनएसी परीक्षण गरिन्छ ।
  • हिस्टोप्याथोलोजीः स्तनको प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्रयोगशालामा ‘बायस्पी’ परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यस बाहेक क्यान्सर निदान गर्न अन्य परीक्षणहरू पनि आवश्यकता अनुसार गर्नुपर्ने हुन्छ ।
स्तन क्यान्सरको उपचार विधि
महिलाहरूको उमेर ढल्किँदै गएपछि स्तन क्यान्सरको खतरा पनि बढ्दै जान्छ । बिरामीको अवस्था र शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार गर्नुपर्दछ ।
  • शल्यक्रियाः स्तन क्यान्सर लागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया ।
  • रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
  • केमोथेरापीः क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति ।
  • हर्मोनथेरापीः हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
  • प्यालिएटिभ केयरः क्यान्सरका बिरामीको पीडा र असुविधा कम गर्न अस्पतालमै राखेर अपनाइने आवश्यक उपचार पद्दति ।
बिरामी र रोगको अवस्थाका आधारमा एक वा एकभन्दा बढी उपचार विधिको प्रयोग गर्नुपर्ने हुन सक्छ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्व राख्दछ ।

स्तन क्यान्सरको रोकथाम
महिलाले आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मोटोपना घटाउने र बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनाले स्तन क्यान्सरको रोकथाम गर्न मद्दत पुग्दछ ।

(लेखक बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख हुन् ।) (स्वास्थ्यखबरबाट साभार)

भोजपुर । अल्ट्रा म्याराथुन धाविका मिरा राई गृहजिल्ला भोजपुरमा सम्मानित भएकी छिन् । छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन समारोहको अवसरमा जिल्ला खेलकुद समिति लगायत एक दर्जन संघसंस्थाहरुले सम्मान गरेको हो । 

भोजपुरको दुर्गम सानोदुम्मा गाविसमा जन्मिएर देश र जिल्लाको नाम अन्तराष्ट्रिय स्तरमा उच्च राखेको भन्दै उनलाई सम्मान गरेको हो । उनलाई खेलकुद विकास समिति भोजपुरले नगद १ लाख ४० हजार सहित दोसल्ला ओढाएका थियो भने अन्य संघसंस्थाहरुले पनि दोसल्ला र प्रशंसा सहित सम्मान गरेको थियो । 

आर्थिक रुपमा कमजोर परिवारमा जन्मिएकी मिरा राई १४ बर्षको कलिलो उमेरमा बालछापामार बनेकी थिइन् । सानै उमेरमा बाल छापामारको रुपमा संघर्षशील उनी सेना समायोजनको क्रममा अयोग्य लडाकु ठहरिएकी थिइन् । अयोग्य ठहरिएपछि निराश भएर कराते सिक्दै गरेकी मिरा फ्रान्समा भएको ८० किलोमिटरको ब्लाक मोन्ट म्याराथुनमा विश्व पहिलो महिला भएर स्वर्णपदक जितेसँगै खेलकुदमा लागेकी हुन् । 

उनले स्पेनमा भएको सालोमन प्रिनेउ अल्ट्रा दौडमा विश्व उपविजेता, हङ्गकङ्गमा भएको सम्पन्न स्काई एसियन च्यम्पेन्सीप लगायतका दजनौ दौडमा जित हात पार्दै आएकी छिन्। मिरा राईको सम्मान सदरमुकामस्थित बजारमा र्‍‌याली गरेर पक्रिमा गरेको थियो । र्‍याली परिक्रमा गर्दा मिरा राईलाई भोजपुरवासीले उठेर सम्मान गरेका थिए । (रातोघरबाट) 






२०७२ पुस २७। सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै पाँचथरकी एक महिलाबाट ३ लाख बढि रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेसबुकमा निश्चल शर्मा नाम भएका झापा खुदुनाबारी–७ का २९ वर्षीय भविन्द्र सुवेदी रहेका छन् । 

dfउनले फेसबुकबाटै काठमाडौँ कालिमाटीमा ६ कोठे घर र विभिन्न बैँकमा ३०/३५ लाख रुपैयाँ भएको अविवाहित् युवक भन्दै प्रलोभनमा पारी युवतीलाई माया जालमा फसाएको र भेट्न काठमाडौँबाट पाँचथर आउँदै गर्दा चितवनमा मोटरसाइकल दुर्घटना भएर नारायणगढ अस्तालमा उपचाररत् रहेको तर खर्च अभाव भएको भन्दै चेक साँट्न काठमाडौँ जानुपर्छ, केही रकम तिमीसँग छ भने पठाइदेऊ भनेको पीडित युवतीको भनाई छ । उनले पाँचथर आउँदै गर्दा दुर्घटनामा प¥यो भनेर मंसिर महिनाभरमा आइएमइबाट ३ लाख १ हजार ७ सय रुपैयाँ पठाएको दावी गरिन् । 

उपचार गरी निको भएपछि भेट्न आउलान् भनि पटक–पटक फोन सम्पर्क गर्दा आउँदैछु भनि आश्वासन मात्र देखाएपछि शंका लागेर उनले प्रयोग गरेको ९८२४०२७६१८ मोवाइल नम्बर समेत पीडित महिलाले आफ्नो नाम गोप्य राख्न अनुरोध गरी दिएको निवेदन अनुसार अनुसन्धान गर्दै जाँदा सुवेदीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनी विरुद्ध ठगी मुद्दा अन्तर्गत मुद्दा दर्ता पछि अनुसन्धान थालिएको उनले बताए । सुवेदीको साथबाट प्रहरीले ८४ हजार मूल्य बराबरको सामसुङ कम्पनीको मोवाइल र सीम पनि बरामद् गरेको छ । (रातोपाटीबाट)।

  • दीपा दाहाल । 
२०७२ पुस २७। संघीय व्यवस्थामा स्वास्थ्य संरचना कस्तो हुने भन्ने सिफारिस गर्न भइरहेको आधिकारिक अध्ययनलाई बेवास्ता गर्दै स्वास्थ्य मन्त्रालयका केही सीमित र प्रभावशाली व्यक्तिहरूले 'गोप्य रूपमा' नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन्।

प्राप्त जानकारीअनुसार सामान्यलाई नयाँ संरचनाको प्रस्ताव मन्त्रिपरिषद्मा अनुमोदनका लागि लैजान स्वास्थ्य मन्त्रालयले दबाब दिएको छ। यो घटनापछि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा खैलाबैला मच्चिएको छ। 

स्रोतका अनुसार स्वास्थ्यसचिव र स्वास्थ्यमन्त्री निकट केही कर्मचारीको मिलोमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी छ।प्राविधिक जनशक्तिको जिम्मेवारी कटौती गरी प्रशासनतर्फकालाई हाबी गराउने उद्देश्यका साथ नयाँ संरचना तयार पारिएको भन्दै उच्च अधिकारीहरू आक्रोशित भएका छन्। 

मुलुकका ३८ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जिम्मा बोकेको मन्त्रालयको संरचना हचुवाका भरमा परिवर्तन गर्न लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन्।संविधानमा मुलुकलाई संघीयतामा लैजाने प्रावधान राखिएपछि स्वास्थ्यको नयाँ संरचना तयार पार्न गठित समितिका संयोजक डा. पदमबहादुर चन्दलाई समेत यो संरचनाबारे जानकारी छैन। 

'संघीयतामा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा हामीले गहन अध्ययन र छलफल गरिरहेका थियौं। यसको निष्कर्ष छिट्टै निकाल्ने योजनामा थियौं', चन्दले आइतबार अन्नपूर्णसँग भने, ‘तर हामीलाई झुक्याई अर्को संरचना बनाएर हतारमा पठाइसकिएछ। यो कुराले हामी चकित छौं।'

प्रस्तावित संरचनाले संविधानले दिएको काम र जिम्मेवारीको विश्लेषण गरी सिफारिस नगरेकाले यसको औचित्य नभएको तर्क उनले गरे।मन्त्रालयकै जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीलाई पनि नयाँ संरचनाबारे जानकारी छैन। 

मन्त्रालयका उच्च अधिकारीसँगै स्वास्थ्य सेवा, औाषधि व्यवस्था र आयुर्वेद विभागका प्रमुखलाईसमेत नयाँ संरचनाबारे जानकारी छैन।स्वास्थ्य सेवा विभागकी प्रमुख डा. पुष्पा चौधरीले नयाँ संरचनाबारे आफूलाई आधिकारिक जानकारी नभएको बताइन्। 

'नयाँ संरचनबारे फेसबुक र ट्विटरबाट मात्र थाहा पाएकी छु', उनले भनिन्। आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. भीमसिंह टिंकरीले पनि नयाँ संरचनाबारे अनभिज्ञता प्रकट गरे। 'त्यति महत्वपूर्ण काम सबैसँग छलफल नै नगरी पठाइयो रे', उनले भने, 'छलफल नै नगरी प्रस्ताव पठाउन कहाँ मिल्छ?'

स्वास्थ्यमन्त्री र स्वास्थ्यसचिव निकट केही कर्मचारीको मिलोमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी छ।
तीनजना १२ औं तहका प्रमुख विशेषज्ञ रहेको मन्त्रालयमा एकजनालाई हटाउने, एकजनालाई दुईवटा महाशाखाको प्रमुख बनाउने र एकजनालाई एउटा महाशाखाको प्रमुख बनाउने प्रस्ताव संरचनामा गरिएको छ। संरचनामा मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिएको नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुखको जिम्मेवारी 'पब्लिक हेल्थ' समूहका डाक्टरलाई नभई जनस्वास्थ्य प्रशासकलाई दिन प्रस्ताव गरिएको छ।

स्रोतका अनुसार स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ र मन्त्रालयका प्रवक्ता एवं सोही महाशाखा प्रमुख स्वास्थ्यनिरीक्षक महेन्द्रप्रसाद श्रेष्ठको मिलोमतोमा एकलौटी ढंगबाट नयाँ संरचना तयार पारिएको हो। 'श्रेष्ठलाई त्यही महाशाखामा राख्ने योजनाका साथ पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले बनाएको योजनाअनुसार हतारमा यो संरचना बनाइएको हो', स्रोतले भन्यो, 'अहिले त्यो योजनालाई मूर्त रूपमात्र दिन थालिएको हो।'

श्रेष्ठले भने नयाँ संरचनाबारे आफूलाई जानकारी नभएको बताए। 'स्वास्थ्यबाट जनसंख्या फुटाएर छु्ट्टै मन्त्रालय बनाइएपछि सामान्य प्रशासनले २४ घन्टाभित्र संरचना पठाउन भनेको थियो। त्यतिबेला म प्युठानमा थिएँ। म नभएको बेला एक सहसचिवले संरचना पठाउनुभएछ', श्रेष्ठले भने, 'यसमा मेरो कुनै स्वार्थ छैन। जुनसुकै समूहका व्यक्तिले पनि मन्त्रालयका महाशाखाको प्रमुख हुन पाउनुपर्छ । मैले त्यसैमा जोड दिएको थिएँ।'

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवद्र्धन प्रधानले नयाँ संरचनामा नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुखको जिम्मेवारी पब्लिक हेल्थ समूहका डाक्टरलाई नभई जनस्वास्थ्य प्रशासकलाई दिनु घातक भएको बताए। अन्तर्राष्ट्रिय प्राक्टिस हेर्ने हो भने स्वास्थ्यका यस्ता महाशाखाको प्रमुख पब्लिक हेल्थ फिजिसियनलाई दिने चलन छ।

नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयअन्तर्गतका परिषद्, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागका प्रमुख कुन तहका हुने भन्ने स्पष्ट छैन । विद्यमान संरचनामा स्वास्थ्य सेवा विभागका महानिर्देशक १२ औं तह र अन्य दुईवटा विभागमा ११ औं तहका व्यक्ति प्रमुख हुने प्रावधान छ।

नयाँ संरचनामा आधुनिक चिकित्सा सेवा शाखा प्राविधिक जनशक्तिविहीन बनाइएको छ । महत्वपूर्ण शाखामा चिकित्सककै दरबन्दी हटाइनु दुःखद् भएको चन्दले टिप्पणी गरे।

संरचनामा चिकित्सा सेवा महाशाखा र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा शाखालाई एउटै तहमा राखिएको छ। नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाको मातहतको छात्रवृत्ति शाखालाई अहिले कर्मचारी प्रशासन महाशाखामा सारिएको छ।

प्राविधिक जनशक्तिको तालिम, छात्रवृत्ति र वृत्तिविकास हेर्ने शाखालाई कर्मचारी प्रशासनअन्तर्गत लगिनु उपयुक्त नहुने अधिकारीको भनाइ छ। स्तर निर्धारणसमेत नगरी बनाइएको संरचना पारित भए स्वास्थ्यका महत्वपूर्ण कार्यक्रममै प्रभाव पर्ने देखिन्छ।

संरचनामा इलेक्ट्रिकल इन्जिनियरको दरबन्दी थप गरिएको छ । स्वार्थपूर्ण तरिकाले आन्तरिक प्रशासन तथा वित्तीय स्रोत व्यवस्थापन महाशाखाअन्तर्गत इलेक्ट्रिकल इन्जिनियरको दरबन्दी राखिएको छ। 

संरचनामा कुनै शाखाको प्रमुख नायबसुब्बा हुने त कुनै शाखामा ११ औं तहका सहसचिवसरहका व्यक्ति बनाउने प्रस्ताव गरिएको छ।स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठलाई यसबारे कुरा गर्न खोज्दा सम्पर्कमै आएनन्। (अन्नपूर्णपोष्टबाट) 


२०७२ पुस २४। किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले सांगितिक साँझको भव्य अायोजना गर्ने भएको छ। अागामी मार्च १३ तारिखका लागि कार्यक्रम गर्ने तय भएको छ। खोटाङ, चिसापानीस्थित किरात पुमा राई संग्रहालय भवन निर्माणार्थ सो कार्यक्रम आयोजना गरिएको अायोजकले जनाएको छ। 

कार्यक्रमलाई भव्य बनाउन नेपालबाट गायकहरु राजेश पायल राई, जुना प्रसाईं, राजेश पुमा, कमेडियन पार्वन राई नृत्यकार गीता राई लगायत चर्चित कलाकारहरुलाई निमन्त्रणा गरिएको छ। संग्रहालय निर्माणका लागि डेड वर्ष अगाडि अायोजित सांगितिक साँझबाटै जग्गाको व्यवस्था भई सकेको किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले जानकारी गराएको छ।

जनवरी ३ तारिख जानकारीसभाको अयोजना गरी किरात पुमा राई संगितिक साझको लागि तुप्खाबाङ्खाला हङकङले भव्य तयारी थालेको हो।

 


 




२०७२ पुस २१। गायक भुवन सुप्तिहाङ राईका दुईवटा गिती एल्बम छिट्टै बजारमा अाउने भएका  छन्। मायाको फूल टिपी सिरैमा सिउरीदिउँकि मायालु र अाइडी छ कि छैन बैनी सारै दुख पाइयो गरी दुईवटा गीतको छयाङ्कन यही हप्ता सम्पन्न भएको छ। 
पछिल्लो समय ‘मायाको फूल’ एल्बममार्फत चर्चामा आएका सुप्तिहाङका म्युजिक भिडियो पूर्वी नेपालका रमणीय स्थलहरु धरान, इटहरी, भेडेटार र त्यस आसपासमा छायांकन गरिएको छ। पहिलोपटक भिडियो निर्देशन गरेको भुवन आफ्नो निर्देशन कार्यबाट सकरात्मक अपेक्षा गरेका छन् ।  
करिब २ लाख हाराकारीको लगानीमा बन्दै गरेको भिडियोमा स्वर गायक स्वयमको रहेको छ भने शब्द बिरेश राई, संगित दिनेश बान्तवाको रहेको छ । क्यामेराम्यानमा युवराज राई, मोडलहरु हेमेन्द्र राई तथा रोशीमा राईको मुख्य अभिनय रहेको छ । 
 त्यस्तैगरि गायक राईकै दोश्रो एलबम मायाको फूल एलबमको शब्दमा दयाराम पाण्डे तथा संगीतमा आलोकश्री रहेकाे समेत राईले जानकारी दिनुभएको छ । 



पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • सम्पर्क ठेगाना दिदै सृजना पठाउन अनुरोध
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • (no title)
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • पुमा (राई) जाति तथा संस्कृति : एक परिचय
  • पुमा राईका भाषा, धर्म र संस्कारहरु
अभिलेखालय
  • ▼  2025 (1)
    • ▼  December 2025 (1)
      •  
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |